झारल र ड्यामको संघर्ष : एउटा अनौठो दृश्य
म प्रायः घुम्न रुचाउँछु । विषय पनि पत्रकारिता भएर होला दोलखाका अधिकांश गाउँँ, कुनाकाप्चा पुगेको छु । वनजंगल, खोलानाला, पाखापखेरा, डाँडाकाँडासँग मेरो सम्बन्ध गहिरो छ जस्तो लाग्छ । म प्रकृतिप्रेमी पनि हुँ जस्तो लाग्छ ।

किनकि, मलाई चिसो मौसममा चिसै मन पर्छ । गर्मीमा घाम नै मन पर्छ । प्रकृतिसँग रुमलिँदा चिसो हावाले मन शान्त र आनन्दित हुन्छ ।म रिपोर्टिङ सिलसिलामा राष्ट्रिय गौरवको आयोजना ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना लामाबगर पुगेको थिएँ । मेरो साथमा पत्रकारहरू चिरञ्जीवी मास्के, दिलबहादुर केसी र नवीनकुमार खतिवडा थिए ।
सदरमुकाम चरिकोटबाट बिहान सबेरै सिंगटी, गोंगर खोला हुँदै जलविद्युत् ड्यामसाइट पुग्ने योजना थियो । हामी चरिकोटबाट हिँड्न अलि ढिलो भएकाले हतारमा थियौं ।
चरिकोटबाट ६८ किलोमिटर टाढा लामाबगर भएकाले गोंगरमा एकेक कप चिया पिएर अघि बढ्यौं । लामाबगर ड्यामसाइट पुगुन्जेल माथिल्लो तामाकोसी जलविद्युत् आयोजना केन्द्र प्रमुख प्रबन्धक पूर्णगोपाल रञ्जितसँग गत असोज १२ र १३ गतेको अविरल वर्षाले हाइड्रोपावरलाई पुर्याएको क्षतिबारे कुरा गर्दै अघि बढ्यौं ।
