नेपाल–भारत ऊर्जा बैठक : दुई क्रसबोर्डर प्रसारण लाइन निर्माण ‘मोडालिटी’ टुंग्याइने
अहिले बस्ने बैठकमा मूलतः नेपाल र भारतबीच निर्माण हुन लागेका दुई हाइभोल्टेज प्रसारण लाइन निर्माण तथा लगानी प्रारूप टुंगो लगाउने विषयमा छलफल हुने ऊर्जा मन्त्रालयले जनाएको छ ।

१ माघ, काठमाडौं । एक वर्षदेखि बस्न नसकेको ऊर्जासम्बन्धी नेपाल–भारत संयुक्त प्राविधिक समिति (जेटीटी) र संयुक्त कार्यदल (जेडब्लूजी) बैठक आगामी २१ र २२ जनवरी (८ र ९ माघ) मा भारत नयाँदिल्लीमा बस्ने भएको छ ।
यसअघि गत वर्ष २ जनवरीमा जेडब्लूजी बैठक भएको थियो भने सचिवको नेतृत्वमा हुने संयुक्त निर्देशक समिति (जेएससी) बैठक ३ जनवरी २०२४ मा भएको थियो ।
नेपाल भारतबीच यी संयन्त्रको बैठक हरेक ६ महिनामा बस्नुपर्ने भए पनि एक वर्षपछि मात्रै बस्न लागेको हो ।
अहिले बस्ने बैठकमा मूलतः नेपाल र भारतबीच निर्माण हुन लागेका दुई हाइभोल्टेज प्रसारण लाइन निर्माण तथा लगानी प्रारूप टुंगो लगाउने विषयमा छलफल हुने ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीले जानकारी दिए ।
