हजारौंको भीडमाझ ‘बलिदान’को प्रि-क्लाइमेक्स छायांकन (तस्वीर)
मोरङको सुन्दरहरैचा नगरपालिकास्थित सिमसार कालीचौरमा हजारौंको भीड जम्मा भयो ।

काठमाडौं । १२ हजारभन्दा धेरैको भीडसहित मंगलबार प्रतीक्षित एक्सन फिल्म ‘बलिदान’को प्रि-क्लाइमेक्स दृश्यको छायांकन गरिएको छ । मोरङको सुन्दरहरैचा नगरपालिकास्थित सिमसार कालीचौरमा हजारौंको भीड जम्मा भयो ।
फिल्मको एक महत्वपूर्ण दृश्यको लागि १२ हजारको भीड जम्मा भएको निर्देशक सन्तोष सेनले बताए । कथा सन्दर्भ थियो– काल्पनिक राज्य भिलमगढका कुटिल राक्षसलाई समाप्त गरेर नायकले आह्वान गरेको एकता सभामा रौद्र अवतारकी काली माताको भव्य मूर्तिको उद्घाटन ।
थेगिनसक्नु भीडलाई व्यवस्थित गर्न विराटनगरबाट डीएसपी वेदबहादुर जोशी नेतृत्वमा प्रहरी खटिएको थियो । प्रहरीलाई नगरप्रहरी र स्थानीय क्लबका स्वयमसेवकले पनि सघाए । बिहानदेखि सुरु भएको छायांकन बेलुका अबेरसम्म चलिरह्यो ।
