‘जुना’को मर्मस्पर्शी टिजर : बालविवाहले ल्याउने असरको कथा
काठमाडौं । बालविवाह र महिला हिंसा निरुत्साहित गर्नेबारेको कथावस्तुमा बनेको फिल्म ‘जुना : एक व्यथा’को टिजर सार्वजनिक भएको छ । माघ २५ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्मलाई जीवन सेन्चुरीले निर्देशन गरेका हुन् ।

गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको फिल्मको शीर्ष भूमिकामा अस्मिता ढकालले अभिनय गरेकी छन् । अनमेल विवाहले नारीको जीवनमा पर्ने असरको कथावस्तु फिल्ममा छ । टिजरले पनि कथावस्तुलाई दर्शाउँछ । टिजरमा कलाकार ढकालसहित कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत, कमल बोहोरालाई पनि चित्रण गरिएको छ । आयोजित पत्रकार सम्मेलनमा निर्माताले टिजर सार्वजनिक गरे ।
निर्देशक सेन्चुरीले ‘बाल विवाह सामाजिक अपराध हो । त्यसकारण यसलाई अन्त्य गरौं’ भन्ने नारासहित फिल्म बनाइएको बताए । लिएको बताए । ‘फिल्मले महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहुविवाह, बलात्कार, जबरजस्ती करणी, छाउपडी जस्ता कुप्रथालाई अन्त्य गर्ने राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने प्रयास गरेको छ’ उनले भने ।
